नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ वैशाख ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रवारका दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आज(बिहीबार) नियमित पत्रकार सम्मेलन गर्दै आयोगले वैशाख ३० गते नेपालभर सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
वैशाख २८ गतेदेखि ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता अर्यालले बताए ।
यसैगरी आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको हो । यस्तै आज दिउँसो ३ः३० बजेसम्म आयोगको तथ्याङ्क अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।