नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ वैशाख ।
सत्तारुढ गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी तत्काल फिर्ता लिन पुन: निर्देशन दिएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीन वटा निर्णय सार्वजनिक गरेको छ । जसमा पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय गरेको छ ।
बैठकले पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय पनि गरेको छ । त्यस्तै पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने तथा गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।
यसअघि मंगलबार बसेको बैठकले नेकपा एमालेसँग स्थानीयस्तरमा भएको चुनावी तालमेल खारेज गर्ने र निर्वाचनमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्न निर्देशन दिएको थियो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको थियो ।
विज्ञप्ति