नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ वैशाख ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य १२०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० रुपैयाँ रहेकोमा बिहीबार रु ९८ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० रहेकामा बिहीबार प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै बिहीबारको मूल्य अनुसार नै कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार ३२० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९०७ दशमलव ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।