नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ वैशाख ।
नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज (शुक्रबार) रिट निवेदनमाथि सुनुवाइ नसकिएपछि आलमको रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो ।
आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको निवेदन ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्चले जानकारी दिएको छ । २७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् ।
जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने हुन सकेको छैन ।