किन सोध्यो आयोगले केशव स्थापितलाई स्पष्टीकरण ?

नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आज (सोमबार) आयोगले एक पत्र पठाएर स्थापितलाई स्पष्टीकरण सोधेको हो ।

केही दिनअघि स्थापितले नेशनल कलेजको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर आयोगले स्पष्टीकरण सोधिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए । उनले कार्यक्रममा बोलेका कुरालाई लिएर आयोगमा उजुरी परेपछि त्यसबारे के भएको हो भनी २४ घण्टे स्पष्टीकरण सोधिएको बताए ।



कार्यक्रममा स्थापितलाई एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि स्थापित आक्रोशित हुँदै ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ?’ भनेका थिए । उम्मेदवार स्थापितको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ४५ वटा महिला अधिकारवादी संघ संगठनले उम्मेदवारी खारेजीको माग गर्दै कारबाही गर्न माग गरेका थिए । त्यस्तै संयुक्त विज्ञप्ति जारी गर्ने ४५ अधिकारवादी संस्थालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

सम्बन्धित समाचार