नवकान्तिपुर संवाददाता
काठमाडौं, २० वैशाख ।
सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ का कार्यवाहक अध्यक्षसहित नेपाली काँग्रेसका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा घरदैलो अभियानमा रहेको नेकपा एमालेमा नेपाली काँग्रेसका स्थानीय नेता एवं वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष जसबहादुर राई लगायत ४ जना एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव आसकुमार राईले माप्यका जनताको मनमा बसेका नेताहरु एमालेमा मात्रै रहेको टिप्पणी गरे । ‘काँग्रेस लगायतको दलमा बचेखुचेका केही नेताहरु पनि एमालेमा प्रवेश भइसकेकाले अब अन्य दलको औचित्य छैन ।’
गाउँपालिका अध्यक्षका उम्मेदवार बुद्धिकिरण राईले कोरोना महामारीका बीचमा पनि यस वडामा आफूहरुले थुप्रै विकास निर्माणको काम गरेको दावी गरे । आगामी निर्वाचनमा पुनः निर्वाचित भएपछि सुन्दर झर्नालाई व्यवस्थित गर्ने, भौतिक संरचनाहरु निर्माण गरि पर्यटकीय क्षत्र बनाउने, तामाङ छोलिङ्ग गुम्बासम्म जाने सिँडी निर्माण गर्ने र निर्माण भएका सडकहरुलाई स्तरोन्नती गर्ने बताए ।
उपाध्यक्षका उम्मेदवार जुनितामाया मगरले महिला तथा बालबालिकाहरुको सामाजिक सुरक्षाका लागि आगामी ५ वर्षमा विशेष योजना लागू गर्ने बताए । यसअघि निर्माण गरेका विकासका आधारहरुलाई पूर्णता दिन एमालेलाई विजयी गराउन जरुरी रहेको उनले बताइन् । वडा नम्बर ५ को अध्यक्षमा एमालेले हिमाल तामाङलाई उम्मेदवार बनाएको छ ।
यस्तै वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निरु राईसहित वडा कमिटिका सदस्यहरु एमाले प्रवेश गरेका छन् । एमालेको घरदैलो अभियानको क्रममा माओवादी केन्द्रका स्थानीय नेताहरु एमालेमा प्रवेश गरेका हुन् । पार्टीको नीति नै नमिल्ने नेपाली काँग्रेससँग गठवन्धन गरेर पार्टी राजनीति सिध्याएको आरोप लगाउदै माओवादीका नेताहरु एमाले प्रवेश गरेको नवप्रवेशी निरु राईले बताए ।