नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ वैशाख ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् । आज(बिहीबार) सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले ओलीकै प्रवृत्तिका कारण गठबन्धन गर्नु परेको बताए । ‘नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, प्रतिस्पर्धा एमालेको केपी अोली प्रवृत्तिसँग हो’ पौडेलले भने । उनले ओली निमित्त नायक बनेको टिप्पणी गरे ।
आज बिहान जगन्नाथ पौडेल लगायतका असन्तुष्ट नेताहरुसँग कुरा गरेको भन्दै पौडेलले उनीहरुले धैर्य गरेर आफ्नो कुरा सुन्न नचाहेको बताए। उनले भने, ‘उहाँहरुले धैर्यता राख्न सक्नु भएन । चाँडै उठेर जान खोज्नुभयो । इमोसन, भावआवेग र उत्तेजनामा आएर असन्तुष्टि व्यक्त गरे जस्तो लाग्यो ।’