भरतपुरमा गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने बताएका छन् । आज (बिहीबार) भरतपुरमा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् । त्यस्तै दाहालले अहिलेको गठबन्धन राष्ट्रको आवश्यकता रहेको भन्दै चितवनवासीलाई गठबन्धन कमजोर नबनाउन आग्रह गरे । उनले अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए । अध्यक्ष दाहालले काँग्रेसले हँसिया हथौडामा र वामपन्थीहरुले रुखमा भोट हाल्न आनाकानी गर्न नहुने बताएका हुन् ।



‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो। देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । त्यस्तै उनले भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे गठबन्धनलाई १०-२० वर्ष नै कायम राख्ने प्रतिवद्धता जनाए । ‘देशको, जनताको समृद्धिको आवश्यकता हो भन्ने तपाईंहरूलाई लाग्छ र उत्साहपूर्ण ढंगले जनताले भोट हाले भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिबद्धता जनाउँछु ’ प्रचण्डको भनाई छ ।

त्यसैगरी अध्यक्ष प्रचण्डले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेलले अन्तिम समयसम्म बिचार गर्ने विश्वास लिएको बताएका छन् । उनले जगन्नाथले अन्तिम समयसम्म विचार नगरे पनि आफ्नो कुनै विद्वेष नहुने बताए । ‘मलाई विश्वास छ, अन्तिमसम्म उहाँहरूले बिचार गर्नुहुनेछ । विचार गर्नुभएन भने पनि जगन्नाथसँग मेरो कुनै विद्वेष हुनेछैन’ प्रचण्डले भने ।

सम्बन्धित समाचार