नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार रहेकोमा बिहीबार रु ९८ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९८ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा २५ रुपैयाँ घट्दै एक हजार २८० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार ३०५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८७६ दशमलव ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।