नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कार्यकालमा कहीँ नभएको जात्रा देख्न पाइएको बताएका छन् । आज (शुक्रबार) सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक प्रगतिशील र दक्षिणपन्थी गठबन्धनको बीचमा सङ्घर्ष भएको बताएका छन् । अध्यक्ष नेपालले भने , ‘केपी ओलीको कार्यकालमा कहीँ नभएको जात्रा देख्न पाइयो, त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनु हुँदैन ।’ अनुचित कुरा समाप्त पार्न, भ्रष्टाचारको अन्त्य गर्न, सुशासनको प्रत्याभूति दिलाउन, कृषिको विकास, उद्योगधन्दाको विकास तथा शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने, स्वच्छ सफा हराभरा बस्ती बनाउने, पर्यावरणमैत्री अर्थतन्त्र बनाउने उद्देश्यका साथ देशव्यापी रुपमा गठबन्धन अगाडि बढेको अध्यक्ष नेपालको भनाइ छ ।
उनले संविधान जोगाउने, सुशासन कायम गर्ने, गणतन्त्रका हिमायती, धर्मनिरपेक्षताका पक्षधर प्रगतिशील गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले यही गठबन्धनको पक्षमा मतदान गर्न आम मतदातालाई आग्रह गरे । उनले दुई तिहाइ जनमतलाई खण्डित गरेर प्रतिगामी पथमा अग्रसर हुने प्रवृत्तिलाई परास्त गर्ने ध्येयका साथ आफूहरूका बीचमा सहकार्य भएको बताए । संयुक्त रुपमा मतदाताको घर घरमा जान र प्रस्ट पार्न आग्रह गर्दै उनले नमिलेका स्थानमा मिलाउन एवम् प्रभावकारी रुपमा निर्वाचनको कार्यक्रम बनाउन आग्रह गरे ।
गफ गरेर होइन, कामबाट जनताको मन जित्न आग्रह गर्दै उनले अहङ्कार र दम्भले कोही कसैको फाइदा नहुने स्पष्ट पारे । उनले भने, ‘गफै गफले जनतालाई मूर्ख बनाउन सकिन्छ भन्ने केहीले ठानेका होलान्, तर त्यो सफल हुँदैन ।’ नेता नेपालले फोहोर मैलाको व्यवस्थापन गर्न, खानेपानीको उचित प्रबन्ध गर्ने उद्देश्यका साथ काम गर्न र इमानदार भएर लागिपर्न आग्रह गर्दै आम जनतालाई आह्वान गर्नुपर्ने बताए ।मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा वृद्ध भत्ताको सुरुवात गरेको अध्यक्ष नेपालले स्मरण गरे । उनले परिवर्तनको पक्षमा मतदान गर्ने वातावरण बनाउन सबै पक्षको सार्थक सहयोग आवश्यक रहेको बताए ।