नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा सिर्जना सिंह र भरतपुरमा रेनु दाहाल जिताउन आग्रह गरेका छन् । आज (शुक्रबार)सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउवाले छ महानगरमध्ये दुई जना महिलालाई जिताउन आग्रह गरे। ‘सिर्जना सिंह काठमाडौंबाट र प्रचण्डजीको छोरी रेनु दाहाल भरतपुरबाट उठिराख्नुभएको छ । मलाई विश्वास छ दुवै महिलाले जित्नुहुनेछ ’ देउवाले भने । त्यस्तै उनले महिला उम्मेदवारलाई राजधानीमा हराएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला भनि प्रश्न समेत गरेका छन् ।
‘राजधानीमा महिला उम्मेदवारलाई हराएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला ?महिला हराएपछि काठमाडौंले दोष पाउँछ ,’ देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले सिर्जनाले काठमाडौंमा फोहोर समस्या रहेकोले प्रमुख जितेको छ महिनाभित्र व्यवस्थापन गरिने बताए । ‘सिर्जनाले काठमाडौं सफा गर्छु, काठमाडौंमा एक मिनेट बस कुर्न दिन्न भनेर प्रतिबद्धता जनाउनुभएको छ’ देउवाले भने ।
त्यस्तै देउवाले रेनुको तारिफ गर्दै राम्रो काम गर्नेलाई जिताउनु पर्ने उद्घोष गरे । महिलालाई महानगरमा जिताएर पुरस्कार दिनुपर्ने देउवाले बताए । रेनुले कति राम्रो काम गर्नुभएको छ । त्यस्तो राम्रो काम गर्ने महिलालाई हुँदैन भन्न मिल्दैन । राम्रो काम गर्ने महिलालाई पुरस्कार दिनुपर्ने हो ।’ देउवाले बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु गठबन्धनको विरोधमा उत्रिएको पनि बताए ।