नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ वैशाख ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन संविधान र लोकतन्त्रको संरक्षणका लागि बनेको बताएका छन् । आज (शनिबार) बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन उनले यस्तो बताएका हुन् ।
उनले नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचार पछि गठबन्धन बनेको बताए । ‘ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरे’ देउवाले भने, कसैको विरोध गर्न नसकेर एमाले अध्यक्ष ओलीले दुई–दुई पटक संसद भंग गरे । संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन । गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो ।’
देउवाले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को सहयोगमा बन्ने विकास आयोजनाले सबैभन्दा बढी फाइदा बुटवलका वासिन्दालाई हुने बताए । ‘एमसीसीले बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइनसहित विभिन्न परियोजनाले बुटवलदेखि दाङसम्मका जनतालाई फाइदा पुर्याउँछ’ देउवाले भने ।
प्रधानमन्त्री देउवाले अदालतले असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई पुनर्स्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको आरोप लगाए । त्यस्तै देउवाले सुकुम्बासी र नागरिकताको समस्या आफ्नो नेतृत्वको सरकारले गर्ने दाबी गरे ।