नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।
नेपालमा आज (आइतबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ६०० रहेकोमा शुक्रबार रु ९८ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० रहेकामा शुक्रबार प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार २८५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८८३ दशमलव ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।