माधव नेपालले धेरै दम्भ गरे ओलीको जस्तो हालत हुने भनेपछि…

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनाश बाहेक केही नहुने बताएका छन् । आज (आईतबार) पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उनले त्यस्ता दम्भ नराख्न आग्रह गरेका छन् । उनले धेरै दम्भ गरे नेकपा एमालेका अध्यक्ष केपी ओलीको जस्तो हालत हुने बताएका छन् । उनले भने, ‘दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको पनि विनाश बाहेक केही हुने छैन ।’



उनले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा उनले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गरे ।

उनले भने, ‘गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ । कांगेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिवर्तन गरेका हौँ । विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो ।’

अध्यक्ष नेपालले अहिले देशमा दुईवटा गठबन्धन रहेको बताए । ‘देशमा अहिले एउटा प्रगतिशील र बाम–लोकतान्त्रिक गठबन्धन छ । अर्को गठबन्धन दक्षिणपन्थी प्रतिगामी, संविधान विरोधी, संघीयता विरोधी र गणतन्त्र विरोधी गठबन्धन छ । त्यस गठबन्धनको नेतृत्व ओलीले गरेका छन् ।’ उनले भने, ‘ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दै दुई/दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेँ । संविधानको घाँटी थिच्ने काम गरेँ । उनलाई यो संविधानको पनि माया छैन, लोकतन्त्रको पनि माया छैन ।’

त्यस्तै अध्यक्ष नेपालले ओली बयलगाडा दर्शनको प्रवर्तक रहेको दाबी गरे । ‘नेकपा एमालेको निर्माण हामीले गरेका थियौँ । एमाले बनाउन उनको कुनै भूमिका रहेको थिएन’ उनले भने । उनले पोखरालाई पर्यटकीय नगरमा विकास गर्ने, तालतलैयाको संरक्षण र बस्तीलाई राम्रो बनाउने, रोजगारी प्रवर्द्धनसहित शिक्षा, र स्वास्थ्यका क्षेत्रमा विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । संसारलाई आकर्षित गर्न सक्ने पोखरा महानगरको प्रमुख/उपप्रमुख पद धेरै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले फेवाताललाई जोगाउने र अतिक्रमण हटाउनु आवश्यक रहेको स्पष्ट पारे । उनले तालको अतिक्रमण नहटाउँदासम्म पोखराको आफ्नो पहिचानलाई जोगाउन नसकिनेसमेत उल्लेख गरे ।

सम्बन्धित समाचार