नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेम धेरै दिन नटिक्ने बताएका छन् । आज (आइतबार) नेकपा एमालेले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउवा र प्रचण्डको प्रेमलाई चाउरे प्रेमको संज्ञा दिँदै पाण्डेले उनीहरुको प्रेम झुटो भएको दावी गरे । ‘शेरबहादुर देउवाजीले भन्नुभएछ । मेरो जोडले पो हो रेनुजीलाई मेयरको उम्मेदवार बनाएको हो । प्रचण्डजी त पर्दैन भन्दै हुनुहुन्थ्यो।’ पाण्डेले भने, ‘रेनुलाई मेयर बनाउन शेरबहादुर र प्रचण्डबीच ज्यादै ठुलो प्रेम बसेछ । यहाँहरुलाई म भन्न चाहान्छु– ‘शेरबहादुर देउवाजी ? यो प्रेम ज्यादै छोटो छ, कमजोर छ भन्ने कुरा धेरै परसम्म जानुपर्दैन होला । यो नक्कली वा चाउरे पिरती केही दिनमै टुट्ने र अंगभंग हुनेवाला छ ।’
त्यस्तै पाण्डेले देउवा पत्नी आरजु राणाको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । ‘तपाईंलाई राणा शासनको भान भयो होला । यो लोकतन्त्रको युग हो । तपाईको गोजीको पैसा होइन, जनताले कर तिरेर ढुकुटीमा जम्मा गरेको पैसा हो , त्यसैले तपाईले छरेका भ्रम जनताले विश्वास गर्दैनन् ’ पाण्डेले भने ।