नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ वैशाख ।
नेपालमा आज (सोमबार) सुनको मूल्य १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० रहेकोमा आइतबार रु ९८ हजार ६००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० रहेकामा आइतबार प्रतितोला रु ९८ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै आइतबार कै मूल्य कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८७२ दशमलव ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।