नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन परमादेशबाट आएको बताएका छन् । आज (सोमबार) पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले यस्तो बत्येका हुन् ।
उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै यो देशको, संविधानको, लोकतन्त्रको र सरकारका नामको कलंक रहेको टिप्पणी गरे । अध्यक्ष ओलीले गठबन्धन कसले जन्मायो भन्ने पनि नखुलेको बताए । ‘यो गठबन्धन झाडीमा जन्मिएको हो, परमादेशबाट आएको गठबन्धन हो, कसले फालेको हो थाहा छैन’ उनले भने । त्यस्तै यस गठबन्धलाई कसैले पनि साथ नदिने ओलीले दावी गरे ।
उनले भने, ‘यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन ।’जनताले त यसलाई साथ दिँदै दिँदैन ।’ उनले आफ्नो विचारलाई बुझ्ने बुद्धिजीवी नै नरहेको बत्येका छन् । अध्यक्ष ओलीले देशको विकास राखिएको विचारलाई उखान टुक्का भन्ने गरेको भन्दै बुद्धिजीवीहरूले यसलाई बुझ्नु पर्ने धारणा राखे । गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत गरिरहेको आरोप लगाउँदै ओलीले शान्तिपूर्ण निर्वाचन गराउनका लागि निर्वाचन आयोग र प्रहरी प्रशासनसँग आग्रह गरे । यस्तै उनले आफू जेलमा रहँदा पोखरेलीहरूले माया गरेको बताउँदै उनले पोखरेलीहरूप्रति आभार व्यक्त गरे ।