गठबन्धनको चुनावी आमसभामा ओलीमाथि खनिए शीर्ष नेताहरु, कसले के भने ?

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै अहिले देश नै निर्वाचनमय बनेको छ । सरकारले आगामी वैशाख ३० गतेको स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ । यस्तोमा मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु भएपछि निर्वाचनको लागि हुने प्रचार-प्रसार देखि लिएर मत माग्न नहुने, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न नहुने आयोगको भनाइ छ ।

अहिले देशभरिका सामान्य चिया पसलदेखि चोक, गल्ली हुँदै शहर, बजार र सभा–समारोहमा समेत निर्वाचनकै कुरा चलिरहेको पाइन्छ ।
यसैक्रममा सत्ता गठबन्धले भरतपुर, काठमाडौँ, दमौली, बुटवल, जनकपुरलगायत देशका विभिन्न स्थानमा चुनावी आम सभाको आयोजना गरेको थियो । चुनावी आमसभामा सहभागी हुने पाँच दलीय गठबन्धन शीर्ष नेताहरुको सहभागिता रहेको थियो । चुनावी सभामा प्राय: गठबन्धनका नेताहरु प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्या केपी शर्मा ओलीमाथि खनिएका थिए ।



कसले के भने ?

प्रधानमन्त्री शेरबहादुर देउवा (नेपाली काँग्रेस)
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनलाई सफल बनाइने बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको आरोप समेत लगाए । त्यस्तै देउवाले रुपन्देहीको बुटवलमाको आमसभामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् ।

उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । ‘ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरे’ देउवाले भने, कसैको विरोध गर्न नसकेर एमाले अध्यक्ष ओलीले दुई–दुई पटक संसद भंग गरे । संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन । गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (नेकपा माओवादी केन्द्र)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने बताएका थिए । अध्यक्ष दाहालले काँग्रेसले हँसिया हथौडामा र वामपन्थीहरुले रुखमा भोट हाल्न आनाकानी गर्न नहुने बताएका हुन् । काठमाडौंमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको सपना देखेर केपी ओलीलाई नायकका रुपमा अघि सारेपनि उनले धोका र षडयन्त्रबाहेक केही नदिएको बताए ।

त्यस्तै जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण असफल भएको आरोप लगाए । उनले मधेसी जनताको चाहनाअनुसार आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा संविधान संशाेधन गर्न खोज्दा ओलीने नदिएको बताएका छन् । ‘दोस्रो पटक प्रधानमन्त्रीको हुँदा दुईपटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले भने, ‘ र, त्यो संशोधन र परिमार्जनको केपी ओलीकै कारणले हुन सकेन ।’

यसैगरी अध्यक्ष प्रचण्डले एमालेले मधेसमा भ्रम छर्ने प्रयास गरिरहेको दावी गरे । मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धिका लागि गठबन्धन भएको उनले बताए । ‘एमाले मधेसी , आदिवासी, दलित, महिला, जनजाति, मुस्लिम विरोधी पार्टीको रुपमा स्थापित भएको छ, फेरि त्यही पार्टी जनतालाई भ्रम दिने गरी षड्यन्त्र गर्दैछ ’ प्रचण्डको भनाइ छ ।

रामचन्द्र पौडेल (नेपाली काँग्रेस)
बुटवलमा शनिबार आयोजना गरिएको पाँच दलीय गठबन्धनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान, संसदीय व्यवस्था, गणतन्त्र विरुद्ध अघि बढेको बताएका छन् । पौडेलले देशमा राजनीतिक स्थायित्व हुन नदिन ओलीलाई निमित्त नायक बनाउँदै षड्यन्त्र भइरहेको आरोप समेत लगाएका हुन् ।

त्यस्तै काठमाडौंको आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले ओली मुलुकको स्थिरताको कारक भएको भन्दै उनलाई बलियो बनाउन गठबन्धन भित्रैबाट खेल भएको दावी गरे । यस्तै सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै पौडेलले काँग्रेसको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् । नेता पौडेलले ओलीकै प्रवृत्तिका कारण गठबन्धन गर्नु परेको बताए । ‘नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, प्रतिस्पर्धा एमालेको केपी अ‍ोली प्रवृत्तिसँग हो’ पौडेलले भने । उनले ओली निमित्त नायक बनेको टिप्पणी गरे ।

माधव कुमार नेपाल (नेकपा (एकीकृत समाजवादी)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी ओलीको बखान गर्न जरुरी नभएको भन्दै हजार जिब्रो भएका शेषनागले समेत उनको बखान गर्न नसक्ने बताए । नेपालले भने, ‘ओलीको बखान हजार जिब्रो भएका शेषनागले त सक्दैनन् मैले कसरी सक्छु ? ओली बयल गाडाका प्रवर्तक हो । उनले गफमा विद्यावारिधि गरेका छन् । झुट र भ्रमको खेती गर्छन् होस् गर्नुहोला ।’

त्यस्तै सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कार्यकालमा कहीँ नभएको जात्रा देख्न पाइएको बताएका छन् । अध्यक्ष नेपालले भने , ‘केपी ओलीको कार्यकालमा कहीँ नभएको जात्रा देख्न पाइयो, त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनु हुँदैन ।’

चित्रबहादुर केसी (राष्ट्रिय जनमोर्चा)
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनकारीले पाँच दलीय गठबन्धनको विरोध गरिरहेको बताएका छन् । शुक्रबार सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केसीले अहिले गठबन्धन भन्दा पनि प्रतिगमन बलियो भएको दावी गर्दै गणतन्त्र जोगाउन हम्मे-हम्मे परेको बताए । ‘गठबन्धनभन्दा अहिले बलियो छ प्रतिगमन । ‘हामीलाई अहिले पनि गणतन्त्र जोगाउन हम्मे-हम्मे परेको छ’ केसीले भने । उनले आफूलाई काँग्रेससँग बिकेको भनेर गलत प्रचार गरेको आरोप समेत लगाएका छन् ।

उनले आफूप्रति आरोप लगाउनेलाई ‘प्रतिगामीका मतियार’ संज्ञा दिँदै देशमा प्रतिगमनको खतरा रहेकोले आफूहरू गठबन्धनमा सहभागी भएको बताए । पाँच दलभित्रै पनि मतभेद रहे पनि अहिले गणतन्त्र जोगाउनका लागि मिलेर जानुपर्ने अवस्था रहेको धारणा व्यक्त गरे । ‘हिजो प्रजातन्त्र मास्न खोस्नेहरुले यो गठबन्धनको विरोध गरेका छन् । पाँच दलभित्र मतभेद रहे पनि गणतन्त्र जोगाउने सवालमा हामी एक ठाउँमा छौं ।’ त्यस्तै केसीले गठबन्धनप्रति आफ्नो पार्टी इमान्दार रहेको दावी गरे ।

सम्बन्धित समाचार