नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।
आयोगले आज गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।
त्यस्तै आयोगले स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ ।