नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।
स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता रहेका छन् । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् ।देउवाको मतदाता नामावली रुवाखोलामा रहेको सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले यसै विद्यालयमा अध्ययन पनि गरेका हुन् । तत्कालीन अवस्थामा यो क्षेत्र असिग्राम गाविस थियो । पाँचवटा गाविसलाई समेटेर गन्याधपुरा गाउँपालिका बनाइएको हो । प्रधानमन्त्री देउवा आइतबार साँझबाट गृह प्रदेशमा रहेका छन् । उनी शुक्रबार मतदान गरेर काठमाडौं फर्कने कार्यक्रम छ ।