नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २ हजार ८१७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा ४ जना र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको छैन ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ८५७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७३ रहेको छ । जसमा १७२ जना होम आइसोलेसनमा छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार ९८२ र एन्टिजेन विधिबाट १ लाख ४० हजार २०७ जना पुगेको छ ।