नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिएकी हुन् ।
दाहालले २७८ मत प्राप्त गरेकी छिन् भने नेकपा (एमाले)का बिजय सुवेदीले २५८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १८० मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ८० मत पाएकी छिन् ।
यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले १३७ र नेकपा (एमाले)का शुक्रकुमार श्रेष्ठले ११७ मत प्राप्त गरेका छन् । भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।