नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डरीले आज जारी गरेको शुभकामनामा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त आह्वान गरेकी हुन् । ‘मुलुकभर छरिएका चैत्य, गुम्बा, विहार एवं बौद्ध धर्मसम्बन्धी सांस्कृतिक तथा पुरातात्विकस्थलहरूको उचित विकास र संरक्षणमा सम्बद्ध पक्षले विशेष ध्यान पुर्याउनु आवश्यक छ,’ सन्देशमा भनिएको छ, ‘बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्ने सुदृढ राष्ट्रिय सङ्कल्पका लागि समेत आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।’
प्राचीन बौद्ध सभ्यताको उद्गमस्थल भएको हुनाले नेपालसमक्ष बौद्ध दर्शनसम्बन्धी अध्ययन र अनुसन्धानको संस्थागत विकास गर्ने ठूलो अवसर विद्यमान हुँदा समुचित उपयोग गर्नुपर्ने उनको भनाइ छ । ‘बुद्धका उपदेशको पालना एवं अनुसरण गरी हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिन्छ,’ सन्देशमा भनिएको छ, ‘समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको छ ।’
सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको र आत्मचिन्तन, जीवनको भोगाइ अनि अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय दःख निवारणको बाटो पहिल्याउने द्रष्टाका रूपमा गौतम बुद्धको अद्वितीय स्थान रहेको सन्देशमा छ । नेपाली भूखण्डमा प्राचीनकालदेखि नै ज्ञान र चिन्तन परम्पराको उच्चस्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट परेको बताइएको छ । वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि–संयोग पर्ने भएकाले यस दिन विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।
बुद्धको सन्देशलाई व्यावहारमा उतारी जीवनलाई शान्तिमय बनाउनुपर्छ : प्रधानमन्त्री देउवा
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गरेका हुन् ।
सन्देशमा भनिएको छ, ‘विश्वमा शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउने शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको पुनीत अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा बौद्ध धर्मावलम्बी समुदायमा सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणजस्ता तीनवटा महत्तवपूर्ण घटनाहरू घटेको पवित्र दिनका रूपमा प्रसिद्ध भएको र यस दिनले परापूर्वकालदेखि नै शान्ति, अहिंसा, सद्भाव, दया, करुणा र आत्मबोधको मार्गतर्फ अघि बढ्न उत्प्रेरित गर्दै आएको सन्देशमा छ ।
‘गौतम बुद्ध नेपालका राष्ट्रिय विभूति हुन, उनको शिक्षा र उपदेश समग्र मानव समुदायका लागि अहिले पनि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत रहेका छन,’ सन्देशमा भनिएको छ, ‘भगवान् बुद्धले दुःख र शोकबाट मुक्ति हुनका लागि उपदेश गर्नुभएको चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग सबै पिँढीका मानव मात्रका लागि उपयोगी र अवलम्बनीय उपायका रूपमा रहेका छन ।’ सन्देशमा बुद्धको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउन सक्नुपर्ने उल्लेख छ ।