दक्षिणकाली नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जित हासिल गरेर नेपाली काँग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।

उनले सात हजार २०१ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाए । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएकी छिन् । उनी पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएकी थिइन् । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाएकी छिन् ।



नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा काँग्रेसले जित हासिल गरेको छ । काँग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार