नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ । यो आलेख तयार पार्दासम्मको अवस्था हेर्दा नेपाली काँग्रेस पहिलो शक्तिको रुपमा उदाउने निश्चित छ । गत स्थानीय निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमाले भने दोस्रो शक्तिमा सीमित बन्ने भएको छ । नेकपा (माओवादी केन्द्र)ले आफ्नो शक्ति कायमै राख्ने संकेत देखाए पनि एकीकृत समाजवादीलाई भने चौथो शक्तिमा टिक्न हम्मेहम्मे परिरहेको छ । उसलाई जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पछि पार्ने संकेत देखिएको छ ।
यता नयाँ र बैकल्पिक शक्तिको हुंकार दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी र जनमत पार्टीले भने लज्जास्पद हार वेहोर्ने निश्चित देखिएको छ । तर केही महानगर र पालिकामा स्वतन्त्र उम्मेद्वारहरुले देखाएको सम्भावनाले भने जनताहरु दलभन्दा माथि उठ्न थालेको सन्देश दिएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीको दुखेसो
निर्वाचनको प्ररम्भिक मतपरिणाम सार्वजनिक भएसँगै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनप्रति काँग्रेस इमान्दार नदेखिएको दुखेसो पोखेका छन् । आफूहरुले काँग्रेसलाई साथ दिएजस्तो काँग्रेसले पनि आफूहरुलाई साथ दिएको भए नेकपा एमाले अस्थित्व रक्षाको खोजीमा हुने उनीहरुको भनाइ छ । हुन पनि बिभिन्न पालिकामा माओवादी र समाजवादीका उम्मेद्वार भएको र काँग्रेसको उम्मेद्वार नै नभएको स्थानमा पनि रुख चिन्हमै मतदान भएको विषयले गठबन्धनमा दरार आउन सक्ने अनुमान गरिएको छ ।
साथै भरतपुर महानगरमा मेयरकी उम्मेद्वार माओवादीकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रशेन अधिकारीको मतअन्तरले पनि माओवादीलाई झस्काएको छ । गठबन्धन भएका अन्य स्थानमा पनि काँग्रेसलाई अन्य दलले साथ दिए पनि काँग्रेसले अन्य दललाई साथ नदिँदा एमालेलाई भने फाइदा नै पुगेको देखिन्छ । तर काँग्रेसको यो प्रवृद्धिले गठबन्धन संसदीय निर्वाचनसम्म कायमै रहनेमा आशंका जन्माएको छ ।
काठमाडौं महानगरमा बालेनले दिएको सन्देश
काठमाडौं महानगरमा बालेन्द्र शाहाले मेयरमा उम्मेद्वारी दिँदै गर्दा नाक खुम्च्याउनेहरु धेरै थिए । यसअघि पनि स्वतन्त्र उम्मेद्वारहरुको चर्चामात्र धेरै भएको र उनीहरुलाई जनताले नपत्याइरहेको अवस्थामा बालेनलाई पनि सोही रुपमा बुझ्नेहरु धेरै थिए । जव मत परिणम आउन थाल्यो, तव ठूला दलहरुको ओठ तालु सुकेको छ । लगातार मतान्तर बढाउँदै लगेका उनले महानगरमा बाजी मार्ने सम्भावना प्रवल देखिन्छ ।
त्यसो त नेकपा एमाले र नेपाली काँग्रेसले काठमाडौंको मेयरका उम्मेद्वार चयनमा ढंग नपुर्याएको भन्दै आलोचना गर्नेहरु पनि धेरै थिए । पार्टीका नेता कार्यकर्ताहरुले शीर्ष नेताहरुको निर्णयको विरोध गर्न नसके पनि गोप्य मतदान गर्ने बेलामा उनीहरुको असन्तुष्टि छताछुल्ल भएको देखिन्छ । काँग्रेस र एमालेका कार्यकर्ताले नै बालेनलाई मत दिएर ठूला दललाई सवक सिकाएका छन् । एक भोट लौरोलाई दिएर अन्य मत ठूला दलका उम्मेद्वारलाई दिनुले पनि दलहरुले उम्मेद्वार छनौटमा विवेक पुर्याउन नसकेको विषयलाई संकेत गरेको छ ।
बालेनको सफलताले आगामी संसदीय निर्वाचनमा पनि स्वतन्त्र उम्मेद्वारको चाङ् लाग्ने निश्चित छ । साथै दलहरुले उम्मेद्वार चयनमा विवेक पुर्याउन नसकेमा ठूला दलहरुलाई नै जनताले किनारमा नपुर्याउलान् भन्न सकिँदैन । यसप्रति दल र शीर्ष नेताहरुको ध्यान पुग्न जरुरी देखिन्छ ।।