नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज (बुधबार) मध्याह्न १२ बजेसम्म सार्वजनिक स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।
नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली काँग्रेसले १९६ पालिकामा विजयी भएको छ । काँग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।
जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । काँग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ । नेकपा (एमाले)ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ । एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ ।
नेकपा (माओवादी केन्द्र) ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ । हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले दुई नगर पालिकामा जित हासिल गरेको छ । आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।