नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।
नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । त्यस्तै देशको ६ वटा महानगरपालिकाको पनि मतपरिणाम आउने क्रम जारी नै रहेको छ । त्यस्तै महानगरपालिकाको ताजा परिणाम हेर्ने हो भने काठमाडौँमा बालेन साहले अग्रता लिँदा ललितपुरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जनले र भरतपुरमा गठबन्धनबताई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् ।
यस्तो छ ६ वटा महानगरपालिकाको ताजा परिणाम
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले २२, ८४२ मत पाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालेनलाई पछ्याइरहेका छन् । स्थापित ११, ७६९ मत सहित दोस्रो स्थानमा रहेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १०,९८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले १२२५ मत ल्याएका छन् । काठमाडौँमा केशव र सिर्जनाको मत जोड्दा पनि बालेनकै मत बढी रहेको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन् । सुनिताले १९,९५६ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६,३१६ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले ४,४६४ मत पाएकी छन् ।
ललितपुर महानगरपालिका
त्यस्तै ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन १७,२१० मतका साथ अग्रस्थानमा छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९,६८८ मत पाउँदा राप्रपाका अष्टबहादुर महर्जनले १,१२० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ९,४८९ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले ६,९०३ मत पाएका छन्।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य २०,७४९ मतका साथ अग्रता लिएका छन् भने नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले १८,३६६ मत ल्याउँदै आचार्यलाई पछ्याइरहेका छन् ।
भरतपुर महानगरपालिका
त्यस्तै भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल १५,१६२ मतका साथ अग्रस्थानमा छिन् भने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले १२, १३६ मत ल्याएका छन् ।
यसैगरी उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १७,५३५ मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ९,७३२ मत पाएकी छिन् ।
वीरगन्ज महानगरपालिका
यस्तै वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंह १४,२६८ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ७,२२२ मत रहेको छ ।
विराटनगर महानगरपालिका
त्यसैगरी विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला १९, १७३ मतका पाउँदै अग्रता लिएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले १४,३३८ मत ल्याउँदै कोइरालालाई पछ्याइरहेका छन् ।