नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ जेठ ।
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेकोछ । उनले १५ हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका हुन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ३३,२६० मत पाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालेनलाई पछ्याइरहेका छन् । स्थापित१७,६९२ मत सहित दोस्रो स्थानमा रहेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७,५७९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले २,५०४ मत ल्याएका छन् । काठमाडौँमा केशव र सिर्जनाको मत जोड्दा पनि बालेनकै मत बढी रहेको छ ।
केशव स्थापित बालेन भन्दा १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि रहेका छन् । यस्तै केशव स्थापितसँग सिर्जना सिंहले मतान्तर घटाएकी छिन् । यी दुई उम्मेदवार बीचको मतान्तर ११३ रहेको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन् । सुनिताले ३१,८४२ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १०,९७९ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले ५,६७३ मत पाएकी छन् ।