नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ जेठ ।
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका सागर मोक्तान विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरेकी छिन् । पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो ।
वडामा भने क्रमशः वडा नं १ मा नेकपा (माओवादी केन्द्र)का कान्छामान जिम्बाले ७२० मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा नेपाली काँग्रेसका पदमबहादुर मोक्तानले ५५१ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यस्तै वडा नं ३ मा कांग्रेसकै कार्साङ लामाले ५९४ मत, वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)का विशाल मोक्तानले ३७१ मत, वडा नं ६ मा नेकपा (माओवादी केन्द्र)का रमेशकुमार लुङ्गेलीले ६०९ मत, वडा नं ७ मा काँग्रेसका खड्गबहादुर श्रेष्ठले ५४१ मत र वडा नं ८ मा नेकपा (माओवादी केन्द्र)का टङ्कबहादुर आले ६९४ प्राप्त गरी विजयी भएका छन् । वडा नं ५ को भने यसअघि गणना हुने वेलामा नेकपा (माओवादी केन्द्र) र काँग्रेसका वडाध्यक्षका उम्मेदवारबीचमा दुई मतले विजयी र पराजय भएकोमा पुनः मतगणना गर्ने विषयमा फेरि विवाद भएपछि अहिले रोकिएको जनाइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरूमध्ये १२ वटा पालिकाको मतगणना सम्पन्न भइसकेको र पाँचखाल नगरपालिकाको मतगणना कार्य जारी रहेको छ । १३ वटा वडा रहेको नगरपालिकाको ७ नं वडासम्मको मतगणना भइसकेकोमा वडा नं १ मा माअोवादी केन्द्र, २, ३, ४ र ७ मा कांग्रेस, ५ मा एमाले र ६ मा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । वडा नं ७ सम्म मतगणना हुँदा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका महेश खरेलले सात हजार २७१ र एमालेका कञ्चन अधिकारीले चार हजार २५८ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपप्रमुख पदमा माओवादी केन्द्रका चेतप्रसाद गौतमले पाँच हजार २७४ मत प्राप्त गरेका छन् भने एमालेका सूर्यमाया दनुवारले चार हजार ९७८ मत प्राप्त गरेकी हुन् । बाँकी वडाहरूको मतगणना जारी रहेको छ ।