नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन्। आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका छन् ।
महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरेका छन् ।
शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएका छन्। उनले छ हजार ५१९ मत प्राप्त गरेका छन् । त्यसैगरी उप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गरेका छन् ।
नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ ।त्यस्तै भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।