बालेन र हर्कको सफलतामा दलहरूले देखेको जोखिम

स्थानीय निर्वाचनको मत गन्ने क्रम अन्तिम चरणमा छ । महानगरपलिका र केही उपमहानगरपलिकाबाहेका अन्य क्षेत्रको मतपरिणाम सार्वजनिक भैसकेको छ । देशभर स्वतन्त्र उम्मेद्वारहरुले प्राप्त गरेको मतले भने सिंङ्गो देशको ध्यान केन्द्रित गरेको छ । ठूला राजनीतिक दलको मत काट्नेभन्दा ठूलो हैसियत बनाउन नसकिरहेका स्वतन्त्र उम्मेद्वारले नै ठूला राजनीतिक दलहरू दिएको चुनौतीलाई दलहरूप्रति जनताको आक्रोशको रूपमा बुझ्न सकिन्छ । जनता परिवर्तनको पक्षमा उभिएको प्रष्ट हुन्छ ।

त्यसो त काठमाडौं महानगरको पूर्ण मत परिणाम आउन अझै केही दिन लाग्ने देखिन्छ । कुल १ लाख ९१ हजार १८६ मत खसेकोमा यो आलेख तयार पार्दासम्म बालेन अन्य राजनीतिक दलका उम्मेद्वारभन्दा झण्डै दोब्बर मतले अगाडि छन् । उनले लिएको अग्रता र खसेको मतको प्रकृति हेर्दा यसपटक काठमाडौं महानगरले स्वतन्त्र मेयर पाउनेमा आशावादी हुन सकिन्छ । खसेको मतको प्रकृति हेर्दा बालेनलाई जनताले मात्र नभई राजनीतिक दलका कार्यकर्ताले पनि साथ दिएको देखिन्छ । एमाले र गठबन्धनका उम्मेद्वारलाई इमान्दारपूर्वक मत हालेका कार्यकर्ताले पनि एक मत मेयरमा बालेनको चुनाव चिह्न लौरोमा मतदान गर्नुले पनि उनी विजय यात्रामा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

वालेनले अग्रता लिएसँगै उनको कार्यकाल कस्तो होला भनेर अनुमानहरू हुन थालेका छन् । कतिपयले त स्वतन्त्र उम्मेद्वारले महानगरमा काम गर्न नसक्ने भन्दै वालेनबाट आश गर्न नसकिने बताउँदै आएका छन् । नगरसभामा एक्लै रहेकोले उनलाई दलका अन्य सदस्यले काम गर्नै नदिने हुन् कि भन्ने आशंका सर्वसाधारणको पनि छ । यता राजनीतिक दलहरू भने स्वतन्त्र उम्मेद्वारले काठमाडौंको मुहार फेर्न सफल भए भने यसको असर समग्र देशभर पर्ने र राजनीतिक दलहरूप्रति जनताको आकर्षण घट्ने विषयलाई लिएर सशंकित देखिन्छन् ।

काठमाडौं महानगरपालिकामा मात्र होइन, यो स्थानीय तह निर्वाचनमा देशैभरि कतिपय स्वतन्त्र उम्मेदवारहरूले राजनीतिक दललाई टक्कर दिए । निर्वाचन आयोगका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनमा छवटा गाउँपालिकामा अध्यक्षसहित २३३ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । नगरपालिका प्रमुखमा भने सो निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुन सकेका थिएनन् तर हालै भएको निर्वाचनमा भने ३ सय ४६ जना स्वतन्त्र उम्मेदवारले जितिसकेका छन् । अन्तिम मतपरिणाम आउँदासम्म यो संख्या अझ बढ्ने निश्चितजस्तै छ । काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूले लिएको अग्रताले पनि जनताले दलहरूको विकल्प खोजिरहेको सङ्केत मिलेको छ । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ्को विजयलाई पनि नागरिक दलगत स्वार्थभन्दा माथि उठेको बुझ्न सकिन्छ ।

दलहरूप्रति जनताको वितृष्णा
निर्वाचनको समयमा हुने नहुने आश्वासन र प्रतिवद्धता जनाउने तर विजयी भइसकेपछि जनताप्रति गरेको बाचा भुलेर सिन्को नभाच्ने दल र नेताहरूको व्यवहारले उनीहरूप्रति जनताको वितृष्ण फैलिँदो छ । काठमाडौं महानगरमा गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उम्मेद्वार बनेर विजयी भएका विद्यासुन्दर शाक्यले पाँच वर्षभित्र मोनो रेल र मेट्रो रेल कुदाउने सपना बाँडेका थिए । तर यस अवधिमा भत्किएका केही प्रचीन सम्पदाको पुनर्निर्माण गरेर शिलापत्रमा आफ्नो नाम लेख्नेबाहेक जनताको पक्षमा कुनै काम भएको जनताले महसुस गर्न पाएनन् ।

साथै राजनीतिक दलहरूले सहभागितामूलक ढङ्गले उम्मेदवार छान्ने पद्धति अपनाउन नसक्दा पनि उनीहरूप्रति जनताको विश्वास टुटेको छ । आफ्ना आफन्त र पैसावालहरूलाई टिकट बेच्ने प्रवृत्तिले पनि जनता स्वतन्त्रप्रति आकर्षित हुने गरेका छन् । यस वर्ष स्वतन्त्रहरूले दिएको टक्करले दलहरूलाई सुध्रिन प्रेरित गर्ने आश गर्न सकिन्छ । अन्यथा जनताले दलीय व्यवस्थाको विकल्प नरोज्लान् भन्न सकिँदैन ।

वालेन र हर्कप्रतिको जनताको विश्वास
काठमाडौं महानगरमा वालेन शाहले जित हासिल गर्छन् भन्नेमा धेरैलाई विश्वास नै थिएन । हाल उनले प्राप्त गरिरहेको मत त झन् अधिकांशको कल्पनाभन्दा बाहिरको विषय थियो । ठूला राजनीतिक दलहरूकै बोलबाला रहेको महानगरमा स्वतन्त्रले उनीहरूको मत काट्नेभन्दा माथि उठ्न नसक्ने आम विश्वास थियो । तर महानगरबासीले यसपटक अनुमान गरेभन्दा फरक निर्णय लिए ।

त्यसो त बालेन शाहाले काठमाडौंको मेयर बन्न पछिल्लो पाँच वर्ष गरेको संघर्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन । उनले यसबीचमा काठमाडौंको समस्या सूक्ष्म रूपमा अध्ययन गर्नेमात्र नभएर सफल भएका जनप्रतिनिधिको कामको पनि अध्ययन गरे । समाजका प्रभुत्व व्यक्तित्वहरूसँग महानगरको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा राय सुझाव लिइरहे । आफ्ना एजेण्डा विभिन्न मिडिया र सामाजिक सञ्जालहरूमार्फत जनतामा पुर्याउने काम गरिरहे । बालेन र उनको टिमले निर्वाचनको समयमा अपनाएको घरवेटी सम्झाउ अभियान, एक घर एक भोट अभियान पनि प्रभावकारी देखियो । साथै दलहरूले महानगरमा सक्षम व्याक्ति उम्मेद्वार बनाउन नसक्दा त्यसको प्रत्यक्ष फाइदा वालेनलाई भयो ।

धरानमा पनि लौरो चिन्हबाटै स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ्को विजयलाई पनि संघर्षकै प्रतीक मान्न सकिन्छ । धरानमा उनले गरेको समाज सेवाले नै उनलाई जनताले मेयरमा देख्न चाहे । जनताले नै चाहेपछि असम्भव के रहेछ र ? जनविश्वासकै कारण वालेन काठमाडौं महानगरको मेयर पदमा पुग्ने सम्भावना प्रवल छ । मेयर बनिसकेका हर्क र जितको बाटोमा रहेका बालेनले गर्ने कामले नै अबका दिनमा स्वतन्त्र उम्मेद्वारप्रति जनताको धारणा निर्माण हुने देखिन्छ ।।

सम्बन्धित समाचार