नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ जेठ ।
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार साह १७ हजारभन्दा बढी मत अन्तरले अगाडी रहेका छन् भने सुनिता २८ हजार भन्दा बढी मत अन्तरले अघि रहेकी छिन् ।
साहले ४३ हजार ८५० मत ल्याएका हुन् । त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । केशव सिर्जना भन्दा ८८५ मतले पछि रहेका हुन् । बालेन साह कांग्रेसकी सिर्जनाभन्दा १७,९०६ मतले र एमालेका स्थापित भन्दा १८,७९१ मत अन्तरले अगाडि रहेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छिन् । सुनिताले ४२,४२८ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १४,२५२ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार विनिता मगैयाले ८६६१ मत पाएकी छन् । सुनिता एकीकृत समाजवादीका रामेश्वर भन्दा २८,१७६ र राप्रपाकी विनिता भन्दा ३३,७६४ मत अन्तरले अघि रहेकी छिन् । काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ रहेको छ ।