नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।
भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।
मेयरमा दाहालले ५२ हजार ३० मत ल्याउदा नेकपा (एमाले)का विजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका थिए । दाहालले सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन् । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । दाहाल विसं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिईन् । दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन् ।
त्यसैगरी भरतपुर महानगरपालिकाको उपमेयरमा मा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङ ३० हजार ६१२ मत प्राप्त गरिन् । अधिकारीले गुरुङ लाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् ।
विसं २०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उनको राजनीतिकयात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित बनेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहेका थिए ।
यस महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।