नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।
वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह निर्वाचित भएका छन् । जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका हुन् । सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् ।
त्यसैगरी वीरगञ्ज महानगरपालिकाको उपमेयरमा गठबन्धनबाटै नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । इम्तियाजले ३० हजार ७८ मत विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९५६८ मतमात्रै पाएका छन् । त्यस्तै राप्रपाकी चिना जैसवालले ५९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३९०९ मत ल्याएका छन् ।
महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा काँग्रेस , नेकपा ( माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो । वीरगञ्ज महानगरका ३२ वटा वडा मध्ये १३ वटा वडामा जसपा, ९ वटामा काँग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।