पोखरा महानगरको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा एमालेको अग्रता

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मतगणना सकिएको छ ।

अब पाँच हजार १५ मतगणना बाँकी छँदा सत्ता गठबन्धनबाट मेयरका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले पाँच हजार २८६ मतको अग्रता बनाएका छन् । उनले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेका छन् ।



हालसम्म मेयरका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेकामा उनका निकटतम् प्रत्यासी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ५१ हजार १८५ मत ल्याएका छन् । यसैगरी उपमेयरमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पारेकी छन् । गुरुङ ५८ हजार ५८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् । पोखरा महानगरपालिका वडा नं २२, ३२ र ३३ को आंशिक मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार