काठमाडौं महानगरको उपमेयरमा सुनिता विजयी, मेयरमा बालेन जित नजिक

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । उनी भारी मतान्तरका साथ अगाडी रहेकाले महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।

काठमाडौंमा १ लाख ६६ हजार ३ सय १३ मतगणना हुँदा डंगोलले ६० हजार ६७५ मत पाउँदा उनको निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् । सुनिताको रामेश्वरसँगको मतान्तर ३९ हजार ९८९ रहेको छ । काठमाडौँमा अब २४ हजार ७७८ मत गणना हुन बाँकी रहेको र सबै मत रामेश्वरले पाए पनि सुनिता उपमेयरमा निर्वाचित हुने छिन् ।



त्यसैगरी काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक पुगेका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार साह २० हजारभन्दा बढी मत अन्तरले अगाडी रहेका छन् । साहले५४ हजार २ सय १३ मत ल्याएका छन् ।

उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई रहेकी छिन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा रहेका छन् । केशव सिर्जना भन्दा ५७१ मतले पछि रहेका हुन् । बालेन साह कांग्रेसकी सिर्जनाभन्दा २०,०३३ मतले र एमालेका स्थापित भन्दा २०,६०४ मत अन्तरले अगाडि रहेका छन् ।

 

 

सम्बन्धित समाचार