नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।
आज (बुधबार) बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार आचार्य ५८ हजार ८९३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत ल्याएका थिए । आचार्यले एमालेका थापालाई ६ हजार ४५ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४ प्राप्त गरेका थिए ।
त्यसैगरी पोखरा महानगरको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रत्यासी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् । एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
यसैगरी उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन् । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो ।