नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य विजयी भएकी छन् ।
महर्जन ४२ हजार ७२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत प्राप्त गरेका थिए । चिरीबाबुले हरिकृष्णलाई १८,१६२ मतले पराजित गरेका हुन् । चिरीबाबु दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
त्यस्तै उपमेयरमामा एमालेकी मञ्जली शाक्य २५ हजार ८५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाएका छन् । महानगरका २९ वडामध्ये कांग्रेस र एमाले समान ११–११ वडामा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) तीन, नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् ।