नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
नेपालमा आज (बुधबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० रहेकोमा मंगलबार रु ९८ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० रहेकामा मंगलबार प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार २७५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८६१ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।