नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
सरकारले जेठ १० गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ,लोकसेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा.टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय
अमेरिकाको हवाईस्थित होनलुलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने कन्प्रिहेन्सिभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकति प्रदान गर्ने निर्णय
आउँदो जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाई लेभल नेपाल स्टडी मिसन टु इन्डिया अन राइट टु फुड एन्ड फुड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय
आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एन्ड नलेज सेयरिङ अन युरोपियन कोअप्रेटिभ सिस्टम एन्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एन्ड भिजिटेबल कोअप्रेटिभ्स मार्केट डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने निर्णय
रूवाण्डाको किगालीमा जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वर्ल्ड टेलिकम्युनिकेसन डेभलपमेन्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलालाई स्वीकृत दिने निर्णय
लोकसेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने निर्णय
२५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय
११ जेठ २०७९मा आयोजना हुने नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४ औं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय
सरकारले पाँच सचिवको सरुवा गर्ने निर्णय ,जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गर्ने निर्णय
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सरुवा गर्ने निर्णय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय
राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय
नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गर्ने निर्णय