नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले संविधानले परिभाषित गरेका राज्यका अङ्गहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या र अपव्याख्याद्वारा गरिने प्रहार प्रति सबै नेपाली सचेत रहन आवश्यक रहेको बताएका छन् । आज (आइतबार) गणतन्त्र दिवस २०७९ को अवसरमा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । आजको दिनलाई मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ताको स्रोत नेपाली जनतामा निहित रहने ऐतिहासिक उपलब्धि भएको दिन भएको स्मरण गर्दै अध्यक्ष ओलीले यस ऐतिहासिक दिनले मुलुकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आधारित राजतन्त्रात्मक शासकीय व्यवस्थाबाट जनताको सर्वोच्चताको प्रणालीमा रूपान्तरण गरेको भन्दै उनले समृद्धिका पाइलाहरूमार्फत मुलुकलाई थप उचाइमा पुर्याउनु पर्ने बताएका छन् ।
शुभकामना सन्देशमा उनले नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले निराशा बाँडेर बस्ने हाम्रो सामाजिक प्रवृत्तिलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको दाबी गर्दै अहिले मुलुकको दूरगामी यात्रालाई अलमल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्याउने काम भएको उल्लेख गरेका छन् ।
आज मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेका उल्लेख गर्दै उनले केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ता शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्य स्रोतको दोहनले लिएको बताएका छन् । नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प बोकेको पार्टी भएको भन्दै उनले राष्ट्रको यस आकाङ्क्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न आफूहरूले चाहिरहेको उल्लेख गरेका छन् ।