नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ
काठमाडौँ महानगरको मेयर–उपमेयरमा युवापिँढीको इन्ट्री भएको छ । युवापिँढीको इन्ट्री भएसँगै काठमाडौँको मुहार फेरिएला कि भन्ने अनुमान लगाएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वन्तन्त्र उम्मेदवारहरूले पनि आफ्नो प्रभाव देखाएसँगै यस्तो अपेक्षा गरिएको हो । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल निर्वाचित भएर कार्यभार सँभालीसकेका छन् ।
बालेन साह ६१ हजार ७६७ मतसहित मेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेपाली कँंग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी थिइन् । साहले सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी कामपाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डङ्गोल विजयी भएकी छन् । डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका थिए । सुनिताले रामेश्वरलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पारेकी थिइन् ।
कतिको परेको थियो उम्मेदवारी ?
काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ जना र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडाहरू र प्रमुख–उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् ।
को–कहाँ निर्वाचित भए ?
कामपाका ३२ वडामध्ये १९ मा काँग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार विजयी भएका छन् । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोलले विजय हात पारेका छन् । कामपामा मात्रै १५६ निर्वाचन स्थल र ३६३ केन्द्र तोकिएको थियो । यहाँ ३ लाख २४२ मतदाता रहेको भने पनि करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेका थिए ।
निर्वाचित भएपछि के भने बालेन साहले ?
काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् । प्रमुख साहले नागरिकको आशाअनुरूप सहरको मुहार फेर्ने पनि बताएका छन् । ‘आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिकसामु गरिएको वाचालाई इमान्दारीका साथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु’ उनले भनेका छन् ।
पदभार ग्रहण गरेपछि साहले गरे यस्तो निर्णय
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेपछिको पहिलो निर्णयमा भने उनले नगर सभाको बैठक लाइभ गर्ने बताएका छन् ।
त्यसैगरी मेयर साहले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी पनि नमनाउने उद्घोष पनि गरेका छन् । उनले भने ‘हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुन भएको छ, छालाको रोग लागेको छ । फोहोर व्यवस्थापन नभएसम्म हामी खादा–माला लगाउँदैनौं र खुसी पनि मनाउदैनौं ।’
निर्वाचित भएपछि के भनिन् सुनिता डङ्गोलले ?
काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले रचनात्मक रूपमा महानगर विकासमा जुट्ने बताएकी छन् । उनले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने पनि बताइन् ।
उनले भनिन् ‘प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । त्यसैगरी ३२ वटै वडामा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजय हुनुभएका जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।’