नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।
नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिटमा पूर्ण सुनुवाई हुँदैछ । आज (मंगलबार) आईजीपी नियुक्ती विवादबारे पूर्ण सुनुवाई हुन लागेको हो । आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ ।
यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको थियो । त्यस्तै निवेदक र विपक्षी धिरजप्रताप सिंहको व्यक्तिगत फाइल र उनलाई बढुवा गर्ने वैशाख १८ गतेको प्रस्तावसहितको निर्णय मिसिल समेत झिकाउन आदेश जारी भएको थियो ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र धिरज प्रताप सिंहलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।