नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।
पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का सांसद विष्णु प्रसाद पौडेलले आव २०७९/०८० को बजेट सत्तारुढ गठबन्धनको घोषणापत्र र चुनावी पर्चा जस्तो भएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभामा आयोजित बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै पौडेलले सत्तारुढ गठबन्धनको घोषणापत्र र चुनावी पर्चा जस्तो भएको टिप्पणी गरेका हुन् ।
उनले बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट ल्याएको आरोप लगाए । ‘यो बजेट बजेट नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो छ,’ उनले भने, ‘मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको दस्तावेज जस्तो देखिन्छ ।’ त्यस्तै पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताएका छन् ।
आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ थियो । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाए । ‘नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ’ पौडेलले भने ।