नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ जेठ ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० रहेकोमा मंगलबार रु ९८ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० रहेकामा मंगलबार प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै एक हजार २५० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।