सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड रहेको भनेपछि…

नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले वृद्धभत्ता ५ हजार नबनाएकोमा पनि टिप्पणी गरेका थिए । उनले वृद्धभत्ता एमालेकै ब्राण्ड भएको दावी गर्दै भने, ‘वृद्धभत्ता ६८ वर्ष झा-यौं, जतिसुकै गरेपनि वृद्धभत्ता एमालेको ब्राण्ड जस्तो हो । सरकारले वृद्धभत्ता ५ हजार बनाएको भए के बिग्रन्थ्यो ?’



उनले वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उनको भनाइ छ। उनले भने, ‘पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ।’ खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताए । बिस्कुट, कुकिजलगायत स्वदेशमा नै उत्पादन हुने खाद्यान्नमा अन्तशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उनले बताए । सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा देशभित्रका उद्योग सुक्दै जानसक्ने उनले बताए ।

पाण्डेले सरकारले ल्याएको झण्डै १८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नै नरहेको बताएका छन् । पाण्डेले अर्थमन्त्रीलाई प्रश्न गर्दै भने, ‘साउनदेखि बजेट कार्यान्वयनमा जान्छ । साउन-भदौ वर्षा लाग्छ । त्यसपछि चाडबाडको समय सुरु हुन्छ । त्यसलगत्तै मंसिरमा चुनाव हुन्छ । अनि काम गर्ने समय जम्मा जम्मी चार महिनामा १८ अर्व खर्च गर्नुहुन्छ ? सम्भव छ ?’

त्यसैगरी उनले सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायतका बस्तुको आयात रोक्न नसक्ने बताए । पाण्डेले  विद्युतीय गाडीमा किन कर वृद्धि गरेको भनेर सरकारमाथि प्रश्न गरेका छन् । ‘अन्तःशुल्क कर वायु प्रदुषण गर्ने गाडीमा लगाइने हो । विद्युतीय गाडीले यस्तो प्रदुषण नै गर्दैन त किन कर वृद्धि गरियो ?’ पाण्डेले भने । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ ।

सम्बन्धित समाचार