पल शाहको मुद्दामा उच्च अदालतले दियो यस्तो आदेश

अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । बिहीबार अभिनेता शाहलाई उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएको हो ।

जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेशलाई उच्चले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पोखराका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।



उनले भने, ‘प्रतिवादी पल शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतबाट भएको आदेश बेरितको नदेखिँदा परिर्वतन गरिरहनु परेन ।’ अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । अभिनेता शाह एक नाबालिग बलात्कार मुद्दामा तीन महिनादेखि जिल्ला कारागार तनहुँको थुनामा छन् ।

यससँगै कलाकार शाहलाई सर्वोच्च अदालतमा उच्च अदालतविरुद्ध निवेदन दिन पाउने बाटो खुला छ । उच्च अदालत पोखराको आदेश सर्वोच्चले बदर गरेमा भने उनले धरौटी वा सामान्य तारिखमा बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउनेछन् । तर सर्वोच्चले उच्च अदालत पोखराको आदेश सदर गरेमा अभिनेता शाहले थुनामै बसेर दुईवटा बलात्कार मुद्दाको सामना गर्नुपर्छ । नाबालिग बलात्कार गरेको अभियोगमा अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । यद्यपि जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाह विरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरिसकेकी छिन् ।

 

 

सम्बन्धित समाचार