नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ जेठ ।
सत्ता गठबन्धनबीच तत्काल मन्त्रिपरिषद् फेरबदल नगर्ने सहमति भएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा तत्काल मन्त्रिपरिषद् फेरबदल नगर्ने सहमति भएको हो ।
बजेट पारित हुन बाँकी रहेको भन्दै तत्काल मन्त्रिपरिषद् फेरबदल नगर्ने सहमति जुटेको हो । गठबन्धन यस्तो निर्णयसँगै नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्ने निर्णय तत्कालको लागि टरेको छ । नेकपा एसका मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग भेट गरी मन्त्रीबाट हटाएको विषयमा गुनासो गर्दै बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने बताएका थिए ।
त्यसपछि प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद् फेरबदल नहुने भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पार्टीको सिफारिस अनुसार नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । तर देउवाले बजेट पारित नगरी मन्त्री फेर्न नहुने बताएको बालुवाटार स्रोतले बताएको छ । एकीकृत समाजवादीको यस्तो निर्णयसँगै अन्य दलमा समेत दबाब बढेपछि प्रधानमन्त्री देउवाको निर्णयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहमत भएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टी नेपालले मन्त्रीबाट हटाइएका चारजनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठकमा आउन आग्रह पनि गरेका थिए। आइतबार बसेको नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले हाल पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले स्वास्थ तथा जनसंख्या मन्त्रीमा भवानी खातुङ, शहरी विकास मन्त्रीमा मेटमणी चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र स्वास्थ राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस गरेको थियो ।
एकीकृत समाजवादीको बैठकले सरकारमा सहभागी मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।