बर्दिया घटनाबारे यसो भने गृहमन्त्री खाँणले

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने सरकारको आदेश नभएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बर्दिया घटनाको विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

बर्दियाको मधुवन-२ मा सोमबार प्रहरीको गोली प्रहारबाट नविना चौधरीको मृत्यु भएको थियो । ‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उहाँको धारणा छ । नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा सम्झाइबुझाइ गर्ने बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन’ गृहमन्त्री खाँणले भने ।



त्यस्तै उनले प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिँदा पनि प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । यस्तै खाँणले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसशित छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको उनले जानकारी दिए । त्यसैगरी गृहमन्त्री खाँणले वन्यजन्तु आक्रमणबाट मानिसलाई जोगाउनका लागि दीर्घकालीन नीति तय गरी काम गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार