
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३२ मनोहरा करिडोर खोलाको छेउमा सिन्धुपाल्चोक बाह्रविशे नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सनराईज चोक बस्ने ६० वर्षीय गोबिन्द बहादुर थापा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै कैलाली, बर्दगोरिया गाउँपालिका-२ कुम्वियास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता ललितपुर, गोदावारी नगरपालिका-१३ झरुवारासीस्थित ढलेपिपल बस्ने ४० वर्षीय अम्बिका बिशंखे आफ्नै घर नजिकै खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै दोलखा, भिमेश्वर नगरपालिका-१ फुलाउने बस्ने ७३ वर्षीय नन्द बहादुर शिवाकोटी घर नजिक सडकको नालीमा बुधबार मृत अवस्थामा फेला परेका छ । जेठ ३१ गते घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यसैगरी मोरङ, सुन्दरहरैचा नगरपालिका-६ बस्ने ४५ वर्षीया काली दर्जी आफ्नै ओछ्यानमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी इलाम, माई नगरपालिका-४ शुक्रबारे बजारस्थित अर्ने खोल्सीमा हाल एकिन नाम, थर, वतन नखुलेका दावा शेर्पा नामले चिनिने अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

